पृथ्वीनारायण शाहः नायक कि खलनायक
युद्धको समयमा भएका एकाध अमानवीय घटनाहरुलाई समातेर; दोस्रो विश्व युद्धपछि अस्तित्वमा आएको मानव अधिकारको चस्मा लगाएर जसले पृथ्वीनारायण शाहको विश्लेषण गर्छ उसको दृष्टिकोणमा उनी खलनायक हुनसक्छन् तर, तत्कालीन समयको राजनीतिक अवस्था अनुसार जसले उनको विश्लेषण गर्छ उसको लागि उनी नायक नै हुन् ।
सत्य हो, पृथ्वीनारायण शाहले उतिबेला अरुको राज्य खोसे । तर, आदिवासी जनजातिको मात्र राज्य खोसे भन्नु चाहिँ गलत हो । उनले नेपाल भूगोल भित्र खास गरी मल्ल, शाह र सेन राजाहरुसँग युद्ध लडेका थिए । मगर र गुरुङ जातिको बाक्लो बस्ती रहेको पश्चिम पहाडमा शाह र सेन राजाहरु राज्य गर्थे । तामाङ र नेवारहरुको बाक्लो बस्ती रहेको मध्य नेपालको पहाडमा मल्ल राजाहरुको शासन थियो । मकवानपुरमा सेन राजाले शासन गर्थे । पूर्वका राई लिम्बुहरु पनि चौदण्डी र विजयपुरका सेन
–अभिषेक जोशी,
राजाहरुका प्रजा थिए । किराँतको अलिकति भुभागमा सिक्किमे राजाले पनि कब्जा जमाएको अवस्था थियो । पूर्वी तराईँ पनि नेपालपट्टि सेन राजाहरुको नियन्त्रणमा रहेको थियो भने भारतपट्टि बंगाल, विहार र उत्तरप्रदेश चाहिँ मुस्लिमहरुको थियो । पछि ती राज्यहरु अंग्रेजले लडाईमा जित्यो ।
यसरी हेर्दा पृथ्वी नारायण शाहले आदिवासी जनजातिको राज्य खोस्यो भन्ने तर्क कुनै पनि कोणबाट पुष्टि हुदैन् । बरु, आदिवासी जनजातिको बाक्लो जनसंख्या रहेका राज्यहरुमा पृथ्वी नारायण शाहले आक्रमण गरे भन्न चाहिँ मिल्छ । तर, आदिवासी जनजातिहरु त गोरखामा पनि थिए । गोरखा दरबारमा गुरुङ र मगरहरुको सुरुदेखि नै उपस्थिति रहेको देखिन्छ । दिब्य उपदेश अनुसार, उनको सेनामा मुख्य गरी ठकुरी, खस, मगर र गुरुङ जातिको वर्चश्व थियो । दिव्योपदेशमै उनले आफुलाई मगरातको राजा हुँ पनि भनेका छन् । गुरुङ र मगरहरुलाई राजधानी र राजधानी प्रवेश गर्ने प्रत्येक नाकामा ठकुरी र खस सेनासँग मिसाएर राख्नु पनि भनेका छन् । सैन्य सुविधाको सवालमा पनि सबैलाई बराबरी हुने गरी सुविधाहरु उपलब्ध गराउनु भन्ने आदेश दिव्योपदेशमै उल्लेख छ ।
किर्तीपुरेहरुको सत्र धार्नी नाक काटेको विषय एकताका निकै नै चर्चाको विषय बन्यो, गणतान्त्रिक नेपालमा । नाक काटिएकै हुन् । द्विविधा छैन । सत्र धार्नी नाक काटिएको तथ्यलाई प्रमाणित गर्ने आधार के त ? भन्दै यस कथनमाथि नेपाली विश्लेषणको क्षेत्रमा सर्वप्रथम विश्लेषक सौरभले प्रश्न उठाएपछि सानो तिनो हलचल नै मच्चियो । सत्र धार्नी नाकको सान्दर्भिकता पुष्टि हुने खालका कुनै स्रोत वा प्रमाण कतै उपलब्ध थिएनन् । बरु सौरभ कै दृष्टिकोणलाई पुष्टि गर्दै पछि अन्य लेखहरु पनि लेखिए, सन्दर्भ सहित । यो वहस सुरु हुनु अघिसम्म हामी केपुचिन पादरीले लेखेका किताबहरुलाई नै पुख्ता प्रमाणको रुपमा पेश गरिरहेका थियौँ । त्यसको सत्यतालाई जाँच्ने काम कसैबाट हुन सकेको थिएन । विश्लेषकहरु पनि सत्र धार्नी नाक काटिएको तथ्यलाई सुविधाका साथ प्रयोग गरिरहेका थिए ।
तत्कालीन विश्वमा युद्धमा पराजित पक्षको सामूहिक नरसंहार गर्र्ने; गुलाम बनाउने; उनीहरुका स्त्री र बालबालिका अपहरण गरेर लैजाने; घरहरुमा आगो लगाई दिने; धनसम्पत्ति लुटपाट गर्ने अभ्यास थियो त्यतिबेला । १४ औँ शताब्दीमा नेपाल आक्रमण गरेको बंगाली शासक सामसुद्दिन ईलियस शाहले सात दिनसम्म भक्तपुर, ललितपुर र काठमाडौँमा लुटपाट, तोडफोड र आगजनी मच्चाएको थियो । भारतमा त यस प्रकारका घटना मुगल र अंग्रेज साम्राज्यको दौरान अनेक चोटी घटे । मुगलहरुहरुले भारतमा हिन्दु, बौध्द, जैन र शिखहरुको सामुहिक कत्लेआम अभियान कै रुपमा अगाडि बढाएका थिए । मुस्लिम शासनको समयमा मात्रै आठ करोड भन्दा बढी गैर मुस्लिमको हत्या भएको अनुमान गरिन्छ । अंग्रेज शासित भारतमा पनि धर्म परिवर्तन गराउन योजनाबध्द अभियान नै चलेको थियो । भारतीय राज्यहरु कर्नाटका, गोवा, नागाल्याण्ड, मिजोरम, मणिपुर, अरुणाञ्चल प्रदेश आदि क्षेत्र आज पनि ईसाई बहुल क्षेत्रको रुपमा चिनिन्छन् । यसको ठिक विपरीत पृथ्वीनारायण शाहले नेपालमा ईसाई र ईस्लाम बाहेक हिन्दु, बौद्ध, किराँत धर्मलाई फल्ने फुल्ने अवसर दिए । कुनै गुम्बा, चैत्य तोडफोड भएन; आगजनी गरिएन; हतियारको आडमा धर्म परिवर्तन गराईएन । न त उनले आफ्नो शत्रु पक्षको सामूहिक नरसंहार गरे; उनीहरुका पत्नी र बालबालिका अपहरण गरे, घरहरुमा आगो लगाए ।
पृथ्वी नारायण शाह आफ्नो समयका असल राजा थिए । उनले प्रशासनिक कामहरु गर्न नपाउँदै उनको मृत्यु भएको कारण यो पक्ष प्रकट हुन पाएन । तर, लिम्बुवानसँगको किपट सम्झौता पूर्ण ईमान्दारीका साथ पालना गरेको, हातहतियार किन्नको लागि सामान्य प्रजा बिसे नगर्चीले दिएको सल्लाह मानेको, बन्दुकका कालिगढ लखनवी मुसलमानहरुलाई गरी खानको लागि थातथलोको स्थायी व्यवस्था गरिदिएको, सेना र जनतामाझ लोकप्रिय रहेका कालु पाँडेलाई काजी पदमा नियुक्त गरेको जबकि उनी विराज बखतीलाई काजी नियुक्त गर्न चाहन्थे, आदि घटनाहरु उनी असल राजा भएको प्रमाण हुन् । पृथ्वीनारायण खासमा जनईच्छाको एकदमै कदर गर्ने राजा थिए ।
जनता र सेना नै राजाको मुलतत्व भएको र यी दुबैलाई मजबुत राख्नु पर्ने; कुनै पनि हालतमा विदेशी व्यापारीहरुलाई मुलुकभित्र व्यापारका लागि प्रवेश दिन नहुने; खानी तथा कृषियोग्य जमिनमा रहेका बस्ती हटाएर भएपनि खानी तथा कृषि सञ्चालन गर्नु पर्ने; आफुले अँगाली आएको मूल धर्म त्याग्न नहुने जस्ता महत्वपूर्ण सन्देश उनले दिव्योपदेश मार्फत दिएका छन् । तसर्थ, युद्धको समयमा भएका एकाध अमानवीय घटनाहरुलाई समातेर; दोस्रो विश्व युद्धपछि अस्तित्वमा आएको मानव अधिकारको चस्मा लगाएर जसले पृथ्वीनारायण शाहको विश्लेषण गर्छ उसको दृष्टिकोणमा उनी खलनायक हुनसक्छन् तर, तत्कालीन समयको राजनीतिक अवस्था अनुसार जसले उनको विश्लेषण गर्छ उसको लागि उनी नायक नै हुन् ।
अन्त्यमा,
जातिहत्या ईसाई र ईस्लाम शासकहरुले गरे । यो कार्य दोस्रो विश्व युद्धसम्म पनि जारी रह्यो । अफ्रिकनहरु, यहुदीहरु, रेड इन्डियनहरु, अर्मेनियनहरु, चिनीयाँहरु, भारतीयहरुमाथि यिनीहरुले जसरी मन लाग्यो राज गरे; रगतको खोलो बगाए; गुलाम बनाए; नारीहरुको सामूहिक बलात्कार गरे; गाउँ र वस्तीहरु जलाए, काटिएका टाउकाहरुको थुप्रो ठड्याएर पहाड बनाए । युरोपमा त क्याथोलिक धार्मिकतासँग सहमत हुन नसकेकै कारण सन् १५२४ देखि १६४८ सम्म धार्मिक युद्ध नै भयो, एक लाख भन्दा बढी मानिसहरु मरे यो युद्धमा । अन्त्यमा, असहमत पक्षसँग क्याथोलिक चर्चले सम्झौता गरेपछि नयाँ ईसाई धार्मिकता पैदा भयो–प्रोटेस्टेन्ट । धर्मको करण कसरी हुन्छ भन्ने विषयमा एउटा उदाहरण पेश गर्न चाहन्छु, रोमन सम्राट कन्स्टान्टाइनले ईसाई धर्म अँगालेपछि रोम मै रोमन धर्ममाथि प्रतिबन्ध लाग्यो । मुर्तिपुजा, मन्दिर, रोमन धर्मशास्त्र, पुजारीहरु सबै प्रतिबन्धित भए । आजको दिनमा हामी रोमन धर्म थियो भन्ने सुन्छौँ; युरोपका केहि देशहरुमा रोमन धर्मका अवशेषहरु आज पनि कायम भेटिन्छन् तर रोमन धर्म मान्नेहरु भेटिँदैनन् । यसको विपरीत पृथ्वीनारायण शाहले उनको राज्यमा रहेका सबैलाई आफ्नो मुलधर्म नछाड्नु भन्ने आदेश दिए । यसर्थ, पृथ्वी नारायण शाहले जाति हत्या गरे; आदिवासीहरुको राज्य खोसे; अन्य धर्ममाथि हिन्दु धर्म लादे भन्ने आरोपहरु मिथ्या छन् । सकिन्छ उनले निर्माण गरिदिएको मुलुकमा बसेर उनलाई राष्ट्र नायक ठानौँ । सकिन्न भने उनले निर्माण गरेको मुलुकमा बसेर, विदेशीहरुले पढाएको पाठ घोकेर उनलाई जाति हत्यारा जस्तो घीनलाग्दो अप्रामाणिक आरोप पनि नलगाऔँ ।
No comments:
Post a Comment