Tuesday, January 10, 2017

मेरो नजरमा चक्रबात



मेरो नजरमा चक्रबात 



                                       पुस्तक समिक्षा – कृष्ण अनुरागी 

बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्दैन भनेझैं आजभोली साहित्य उत्कृष्टतामा भन्दा पनि बिज्ञापनमा बढी बिक्ने गरेको तितो यथार्थ हाम्रा सामु घाम झैं छर्लंग छ । सामान्य मुक्तक, गजल या कबिता संग्रह नै किन नहोस आजभोली निकै तामझाम सहित झ्याली पिटेरै बिमोचन गरिन्छ त्यो पनि आस्थाका आधारमा राजनैतीक उच्च नेतृत्वलाई अगाडी उभ्याएर । झनै आख्यान क्षेत्रको त कुरा नै बेग्लै छ बिमोचन भन्दा पॉच छ महिना अगिदेखी नै स्थापीत मेडिया मार्फत बिज्ञापन नै बजाइन्छ । मलाई थाहा छैन त्यो लेखकको रहर , बाध्यता,सौख या व्यबसाय के हो ? तर पनि मलाई लाग्दैन ति सबै श्रृजनाहरु उत्कृष्ट थिए र तिनलाई पाठकले रुचाए भलै ति संख्यात्मक हिसाबमा केहि प्रति बढी बिक्री भए पनि होलान् । बिज्ञापन हेरेर या सुनेर किताब किन्ने मध्येको स्वयं म एक पाठक जसलाई कैयौपटक लागेको छ सॉच्चै म ठगिएछु भन्ने । कतिपय लेखकहरु यस्तापनि भेटिए जो पब्लीसरबाट रोयल्टी हैन आफ्नो पब्लीसिटीका लागी स्थापीत पब्लीसरलाई रोयल्टी बुझाउछन् । अनि कसरी बन्छ उत्कृष्टतामा साहित्य ? अर्को रमाईलो पक्ष के भने नाम कहलिएका पब्लीसरहरु एक खालको मनोबैज्ञानीक सेन्डीकेट लाद्न सफल छन् कि साहित्यको उत्कृष्टता भन्दा पनि पब्लीसरका नामले बिक्छ साहित्य । हुन त यसमा हामी आम पाठकहरुकै कमजोरी छ नचाहँदा नचाहँदैपनि किताब किन्नु अगि हाम्रा ऑखा पब्लीसरमा नै पर्नेगर्छन् ।

 
आदरणीय दाजु दिपकिरण शर्मासँग चिनजान र मित्रता हुँदा हुँदै पनि उहॉद्वारा लिखीत उपन्यास चक्रवातमा खासै ध्यान गएको थिएन या अज भनौ मन गएको थिएन । यसको पहिलो कारण त बजारमा यसका बारेमा खासै चर्चा,परिचर्चा र बहस देखिदैनथ्यो । न कुनै बिज्ञापन थियो न त कुनै स्थापीत नाम चलेको पब्लीसरले नै यो किताब छापेको थियो । आभा ग्रुप न पहिले कहिल्यै नाम सुनेको थिएँ न यसका बारेमा पढेको नै थिएँ । लेखक स्वयं सँगको प्रतक्ष भेटघाट र कुराकानीमा पनि कहिल्यै किताबका बारेमा कुराकानी भएन । उहॉलाई राम्रोसँग थाहा थियो कि म किताब किनेरै पढ्ने मान्छे हो तर अहँ उहॉले कहिल्यै पनि मलाई किताब पढ्यौ भनेर सोध्नुभएन । मैले पनि कुनै दिन यस बिषयमा चासो प्रकट गरीन । हुन त मेरो नजरमा चक्रवात खासै पढ्न लायक किताब होला भन्ने नै थिएन तर एउटा लेखक आफ्नै कृतिका बारेमा कसरी मौन बस्न सक्छ भन्नोमा चॉही म निकै उद्धेलित थिएँ । यस बिचमा बिभीन्न पुस्तक प्रदर्शनिहरु भए र मैले थुप्रै किताबहरु ल्याएर पढेपनि तर अहँ मलाई चक्रवातले खासै आकर्षीत गर्न सकेन । चक्रवातले धारावाहिक रुप पनि धारण गरिसकेछ लगातार दोस्रो र तेस्रो भाग चक्रवातकै नाउँमा पुस्तक बिमोचन हुँदासम्म र लेखकसँको भावानात्मक संबन्ध अज गहिरिएर जॉदा पनि उपन्यासका बारेमा कुनै बहस भएन । तेस्रो भाग पनि बजारमा आइसकेपछि म आफैले यसका बिषयमा चासो प्रकट गर्न थाले तर लेखकको सहज प्रतिकृया आउथ्यो बजारमा किताब पाइन्छ किन्ने अनि पढ्ने थाहा भैहाल्छ । म अवाक थिएँ यत्रो धारावाहिक उपन्यास लेख्ने लेखकको यस्तो प्रतिकृयावाट । हुन त उहॉसँगको संगत र उठबसले उहॉ देख्दा घमण्डी,रुखो र जटिल जस्तो देखिएपनि वास्तबिकतामा उहॉ एकदमै मिलनसार, खरो स्वभाव र सरल ब्यक्तित्व हुनुहुन्थ्यो भन्ने कुराको राम्रो ठम्याई आइसकेको थियो म मा । एउटा लेखकको आफ्नो किताबको प्रचार प्रसारमा यो हदसम्मको बेवास्ता र निरन्तर थपिदै गएका धारावाहिक अंकहरुले मलाई बिस्तारै चक्रवातका बारेमा केहि जान्ने हुटहुटी बढेर गयो ।
लेखक सॉच्चै मलाई बोलाउन चाहनुहुन्थ्यो या एउटा औपचारीकता मात्रै निभाउन चाहनुहुन्थ्यो थाहा भएन तर पछिल्लो पटक चक्रवात १,२ र ३ का लागी पब्लीसर आभा ग्रुप ले आयोजना गरेको एउटा अन्तरकृया कार्यक्रममा उहॉले मलाई निम्ता दिनुभयो । त्रिचन्द्र कलेजमा राखिएको उक्त कार्यक्रम पक्कै भब्य होला भन्ने लागेकोले म तोकिएको समयको आसपास नै कार्यक्रम स्थल पुगेको थिएँ । अचम्म त के भने त्यतिबेलासम्म न त्यहॉ कुनै कार्यक्रमको छनक देखिन्थ्यो न कुनै मान्छे । मलाई लाग्यो म झुक्कीए सायद, तुरुन्तै दिप दाजुलाई फोन गरें १२ नं कोठा हो बस्दै गर्नुस म आइपुग्न लागे उहॉको जवाफ थियो । मध्यान्ह एक बजेका लागी भनिएको कार्यक्रममा दुइ बजिसक्दासम्म न त्यहॉ आयोजक थिए, न लेखक र न पाठकनै । एक मन त फर्किहालौ भन्ने पनि लाग्यो तर एकपटक तोकिएको कोठा नं १२ मा हेर्न मन भयो । भित्र केहि मानीस देखेपछि लाग्यो केहि कारणले कार्यक्रम ढिलो भयो होला तर उपस्थिती बाक्लै रहेछ । ढोका खोलेर भित्र चिहाएको मात्र के थिएँ म झन् रनभुल्लमा परें । शिव बुटीको धुँवाले भरिएको थियो कोठा र शिबभक्तहरु लिन थिए बुटी सेबनमा । के यहि हो त कार्यक्रम स्थल ? म लगभग फर्कने सोचमा तल झर्दै थिएँ दाजुको फोन आयो कहॉ हुनुहुन्छ म गेटमा आइपुगे भन्दै । मलाई एक मन त भनिदिउँ झैं लाग्यो दाजु म कैलास पर्बतमा छु तर सम्हाले आफुलाइ । दाजुसँगको भेटपछि उहॉले एकजना फुच्ची बैनीतर्फ इसारा गर्दै भन्नुभयो उहॉ नै हो मेरो उपन्यासको पब्लीसर । एउटा झोलामा केहि थान किताब बोकेकी हँसीली नानीले नमस्कार गरिन् सोचें पब्लीसर नै यति हँसीली रैछिन् कार्यक्रम भब्य त हुने नै भयो । शिबभक्तहरुलाई बाहिर निकालेर शिब बुटीको सुगन्धमा गरिएको अतिथिको पर्खाइ पनि रोमांचक नै रह्यो त्यसदिन । करीब आधा घण्टाको पर्खाई पश्चात नगण्य उपस्थितीमा कार्यक्रम सुरु भयो । मैले सोचेको भब्य कार्यक्रमको त्यो अबस्था र पब्लीसरको आलाकॉचोपन देखेर केहि बोलौ कि भन्ने पनि लाग्यो तर चुपचाप सुनिरहें लेखकका, पब्लीसरका र अतिथीका कुरा । कार्यक्रम सकियो अनि फर्कदै गर्दा लाग्यो हैन किताब त पढिदिउँ एकपटक दाजुले के सोच्लान् फेरी । फर्किएर तिनै भाग चक्रवात लिएँ र हतार हतार तल झरे जिन्दगीमा ब्यर्थको कार्यक्रममा समय खेर फालेको एउटा तितो अनुभव सँगालेर । प्राय किताब किनेर ल्याइसकेपछि कतिखेर पढौ भन्ने उत्सुकता जागेर ऑउछ ममा । त्यसदिन खासै त्यस्तो भएन बेलुकाको खानापछि हामी छलफलमा रह्यौ दिउसोको त्यो कार्यक्रमका बारेमा । कुनै पनि किताब,स माचार या महत्वपुर्ण बिषयबस्तु हामी सामुहिक बाचन र सामुहिक श्रवण गर्ने गर्दछौ । त्यसदिन मन नलागी नलागी मैले चक्रवात एक पढ्न शुरु गरें उनि साथमा बसेर श्रबण गरिन् ।

 
किताब पढ्दै जॉदा हामी यसरी हराएछौं कि बिहानको चार बजेको समेत हामीलाई पत्तै भएन । मेरो जिवनमा मैले कुनै पनि किताब यसरी पढेको थिइन जसले पुरै रात छर्लंग बनाओस् । अगिल्लो दिन लेखकका र अतिथीका कुरा सुन्दा हाम्रै जिवनका बिभीन्न क्षेत्रमा रहेका ब्यथितीमाथीको प्रहार हो 'चक्रवात' भन्ने बुझेको थिएँ जहॉ आदर्श प्रेमका कुरा चटपटे मसलाका रुपमा प्रयोग गरिएको छ । तर किताब पढिसकेपछि लाग्यो एउटा जिबन्त प्रेम कथाको रोमांचक प्रस्तुती रहेछ 'चक्रवात' जहॉ जिबनका कहालीलाग्दा चक्रवातहरु नाटकिय ढंगवाट एकपछि अर्को गरि घटिरहे छन् । भलै लेखकले उपन्यासमा नेपाली राजनिती, सामाजीक बिकृती सँगसँगै प्रशासनिक बिसंगतीमाथीको प्रहारलाई केन्द्रबिन्दुमा राख्न खोजेकाछन् तर उपन्यासका प्रमुख पात्र बिनय र आरतीबिचको प्रेम,त्याग र समर्पणले नै उपन्यासलाई केन्द्रित गरेको छ जसलाई लेखकले आदर्श प्रेमको उपमा दिएका छन् । मलाई थाहा छैन लेखक स्वयं प्रेमका बारेमा कति जानकार छन् तर म यत्ति भन्न सक्छु लेखकले आफुमा रहेको सामाजीक चेतनाभावलाई आख्यानीकरण गर्ने शिलशिलामा प्रेमभावलाई यति गहिरोसँग घोलिदिएका छन् कि चाहेरपनि यसलाई कसैले अलग गर्न सक्दैन । त्यसैले म भन्छु यो एउटा प्रेमरसले भरिएको सामाजीक उपन्यास हो जसलाई सबै तह,तप्का या बर्गका पाठकले आफ्नो रुचाईमा पार्न सक्दछन् । हाम्रो देशको भौगोलीक बिकटता अनि त्यहॉको प्राकृतिक सुन्दरता सँगसँगै त्यस क्षेत्रको सामाजीक जटिलतालाई बडो कलात्मक ढंगवाट प्रस्तुत गरेका छन् लेखकले उपन्यासमा । बिभीन्न गैर सरकारी संस्थाहरुका बिकासे कार्यक्रम र त्यसको नकारात्मक प्रभावका बारेमा तिखो बाण हान्न सफल चक्रवात ले त्यहि बिकासे कार्यक्रमलाई ईमान्दारीता, लगनशिलता र जिम्मेवारीबोधका साथ अगि बढाउने हो भने समाजको रुपरेखा नै बदल्न सकिन्छ भन्ने संदेश पनि दिएको छ । उपन्यासको शुरु देखि अन्तसम्म नै पाठकहरुलाई रहश्यको चक्रब्यूहमा राख्न सफल छन् लेखक जसले उनिहरुलाई यति धेरै उद्धेलित बनाउछ कि चाहेर पनि कोहि उपन्यास अधुरो छोड्न सक्दैन । चक्रवातका तिन वटै भागहरुमा फरक फरक सामाजीक परिबेशहरुको चित्रण गरिएतापनि पाठकले उपन्यासका हरेक पानाहरुमा खोज्ने बिनय र आरतिलाई नै हो ।
जिबन, दर्शन, राजनिती, सामाजीक उत्तरदायीत्व सँगै प्रेम, त्याग र समर्पणले पुर्णतया श्रृंगारिएको छ चक्रवात । यहि श्रृंगारिकतासँगै लठ्ठिएका पाठकलाई कहि कतै पेट मिची मिची हसाउनु त कतै घिक्का छोडी छोडी रुवाउनु लेखकको अद्धितिय कला हो ,सायद यो बिरलै लेखकहरुमा भेटिन्छ । चक्रवातका हरेक भागहरुमा उनले यसरी बिट मारेका छन् कि जसले पाठकलाई न त उपन्यास अधुरो भयो भन्ने लाग्छ न त उपन्यास अब सकियो भन्ने नै लाग्छ । पहिलो भागमा बिनय र आरतीको मिलन भन्दा पहिले नै बिट मारेर पाठकलाई उद्धेलित बनाएका लेखकले दोस्रो भागमा उनिहरु बिचको संबन्धमा दरार खडा गरि प्रमुख पात्र बिनयलाई लै गायब गराएपछी झनै अब के हुन्छ भन्ने छट्पटीले तेस्रो भागको प्रतिक्षा गराउछ। तेस्रो भागमा पाठकले सोच्दै नसोचेको त्याग, समर्पणसँगै सम्झौताको कसीमा लगेर उपन्यासलाई बिट मार्छन् लेखक तर चलाखीपुर्ण तबरले बैशाख १२ को अकल्पनिय भुकम्पलाई जोडेर चौंथो भागको प्रतिक्षामा बस्न फेरी विबस तुल्याउछन् उनि । प्रेम, त्याग, समर्पण र सम्झौता समाजमा ब्याप्त बिकृती ,बिसंगती र कुरितीको चक्रब्यूहमा एकपछि अर्को गरी जेलिदै जॉदा चक्रबातले धारावाहिक रुप ग्रहण गरि रहेको छ । न प्रेममा उश्रृंखलता छ न कुनै छाडा शब्दहरुले स्थान पाएको छ, भाषागत स्पष्टता र प्रस्तुती सरलताले झनै उपन्यास अब्बल देखिएको छ । चक्रवातको पहिलो र दोस्रो भाग जति उत्कृष्ट छ त्यति उत्कृष्टता तेस्रो भागमा अलि नदेखिएको हो कि भन्ने मैले महशुस गरेको यथार्थता हो । त्यसो त दोस्रो भागमा पनि केहि कमिकमजोरी नरहेका हैनन् । अनुपमा र उसका बुवा तराई जानेक्रममा सौराहामा दुइ दिन बस्छन् र तेस्रो दिन तराइका लागी निस्कन्छन् निस्कदा पहिला नारायणगढ अनि हेटौडा र त्यसपछि कावासोती पुगेको कुरा लेखक उल्लेख गर्छन् । यहॉनेर लेखक तराइ जाने बाटोबारे जानकार नभएको हो या अलमलमा परेको हो बुझ्न सकिएन । यदि पुर्वी तराई जाने हो भने सौराहाबाट हेटौडा हुँदै जानुपर्ने हुन्छ र यदि पश्चिम तराई जाने हो भने सौराहाबाट नारायणगढ अनि कावासोती हुदै जानुपर्ने हुन्छ । लेखकको यो कमजोरीलाई सानो मान्न सकिएला तर यस्ता कमजोरीहरुले पार्ने दिर्घकालीन असरका बारेमा लेखक स्वयं सतर्क रहन जरुरी छ । पहिलो र दोस्रो भागमा लेखकको कलमले कहिं न कहिं उनले जिवनमा भोगेका, देखेका या महशुस गरेका कुराहरुलाई नै उपन्यासमा उतार्यो भन्ने कुराको आभास दिन्छ । तर कता कता तेस्रो भागमा उनको कलमले अलि बढी हतार गर्यो, काल्पनिकताको सहारा लियो र अझ भनौ लेख्नैपर्ने बाध्यताको मतियार बन्यो कि झैं लाग्छ । हुन त यो मेरो ब्यक्तीगत बुझाइ हो तर पनि मलाई लाग्छ कल्पनमा लेखिने कथा भन्दा यथार्थतामा लेखिने कथा जिबन्त हुने गर्छन् । त्यसो त लेखकहरुमा काल्पनिकतालाई पनि बास्तबिकताको छनक दिने खुबि हुन्छ रे ! तर यहॉ प्रिय लेखक त्यसमा पनि चुकेका हुन् कि भन्ने लाग्छ । पहिलो र दोस्रो भागको बिट माराइले पछि आउने भाग अज रोचक र स्तरिय बन्नेछ भन्ने पुर्वानुमान गर्न सकिन्छ तर तेस्रो भागको बिट माराइ अलि भिन्न देखीन्छ जसले अब आउने भागको स्तरियतामाथी प्रश्न उठाउछ । उपन्यासका प्रमुख पात्रहरु बिचको रोमांचक प्रेम कथालाई तेस्रो भागको अन्ततिर अलि फितलो रुपमा प्रस्तुत गरेको देखीन्छ । एकातिर कि मृत्यु कि आरती भन्ने बिनयले रश्मीलाई सहज अँगालेको छ भने अर्कोतिर आफ्नो जिवनलाई नरकिय अबस्थामा पुर्याउने र पटक पटक श्रिमानकै रुपमा बलत्कार गर्ने बिशालको सामान्य प्रायश्चीतमा नै आरतिले पुन स्विकारेकी छ जुन स्वभाबिक देखिदैन । अब आउने भाग चारले पक्कै पनि बिनासकारी भुकम्पले निम्त्याएका चक्रबातहरुको फेहरिस्त पस्कने छ भन्नेमा शंका छैन तर अबको भागमा लेखकले बिनय र आरतिको प्रेमलाई कुन रुपमा प्रस्तुत गर्लान् त्यो भने प्रतिक्षाको बिषय बनेको छ ।
कमजोरी बिहिन सायद ब्यक्ती हुदैन तर जो ब्यक्ती कमजोरीबाट पाठ सिक्छ र त्यसलाई पुन दोहोर्याउदैन त्यो नै सफल ब्यक्ती कहलाउछ । आशा गरौ धारावाहिक उपन्यासका क्षेत्रमा लेखकको यो सफलताले आगामी दिनमा अज सार्थकता पाउनेछ । केहि कमिकमजोरीका बाबजुत पनि उपन्यास उत्कृष्ट बनेको छ भन्नेमा शंका छैन । मलाई पुर्ण बिश्वास छ जसरी चक्रवातका तिनै भागहरु मैले अबिराम पढ्न बाध्य भएँ त्यसैगरी अबको चौंथो भाग पनि पढ्न पाइयोस र पुरै रात छर्लंग पार्न सकियोस । अन्तमा मेरो सुझाब लेखकलाई उपन्यास राम्रो बनेको छ र फेरीपनि राम्रो बन्नेछ तर चुपचाप बसेर पाठकमाझ उपन्यास कसरी पुग्न सक्ला । जबसम्म रचनाहरु पाठक माझ पुग्दैन तबसम्म यसलाई स्तरियताको कसी लगाउन सकिदैन । अहिलेको हाम्रो सामाजीक परिबेश भनेको बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्दैन भन्ने नै हो । यस अर्थमा उपन्यासलाई बढी भन्दा बढी पाठकहरुमाझ कसरी पुर्याउन सकिन्छ भन्ने तर्फ लेखकले ध्यान जाओस मेरो आग्रह छ ।
धन्यवाद !

Friday, January 06, 2017

बेशीसहर–५ तालफाटँका विक दम्पती तरकारी खेतीमा रमाउँदै, मासिक ८० हजार कमाई



 बेशीसहर तालफाटँका विक दम्पती तरकारी खेतीमा रमाउँदै, मासिक ८० हजार कमाई  


२२ पुस । बेशीसहर नगरपालिका वडा नम्बर ५ टारगाउँ तालफँटका एक विक दम्पती तरकारी खेतीमा ब्यस्त छन् । उनीहरु, हुन् बिरबहादुर विक अनी चिजा विक । ती दम्पतीको मेहेनत देखेर प्रशंसा नगर्ने कोही छैनन् । सुरुका दिनमा गरीबीले सताएपछि तरकारी खेतीमा लागेका उनीहरु यतिबेला तराकारी खेती आम्दानीको प्रमुख स्रोत बनेको बताउँछन् ।
९ बर्ष साउदी अरबमा काम गरेका विरबहादुर विक, विदेशमा पनि तरकारी खेती गर्ने गर्थे  । विदेशमा दुख हुनुका साथै आफ्नो परिवारसँग साथमा हुन नपाउदाँ दुःखी बनेका उनी गाउँमै फर्कीएर तरकारी खेतीतर्फ लागेका हुन् ।  
२०४५ सालदेखि तरकारी खेती गर्दै आएका ६१ बर्षिय विरबहादुर र ३९ बर्षिय चिजा आजभोली तरकारीमै रमाइरहेका छन् । बेलुका तरकारी टिपेर राख्ने अनी विहानै ६ बजे दुवै जना दुई डोको तरकारी बोकेर सदरमुकाम बेशीसहर आइपुग्छन् तरकारी विक्रीका लागि ।
करिब एक घण्टाको समय लगाएर बजारमा आएर तरकारी विक्री गर्ने उनिहरुको दैनिकी जस्तै बन्ने गरेको छ । विक दम्पतीको बारीमा मौसमी तथा बेमौसमीका तरकारी पाइन्छ ।  अहिले, काउली, बन्दा, घिउ सिमी, रायो साँग, तोरी साँग, खोले साँग, गाजर, गोलभेडा धनियाँजस्ता प्रशस्त तरकारीका बारीमा लगाइएको छ ।
५ रोपनी जग्गामा तरकारी गरेका दम्पतीले तरकारीबाट फाइदा लिदै आएका छन् । आफुहरुले ताजा तरकारी बेशीसहर बजारमा बिक्री गर्न ल्याउने भएकाले पनि बजारको समस्या नरेहको विरबहादुर बिक बताउँनुहुन्छ ।
विक दम्पतीले तरकारी खेती बाहेक ८ हलको धान खेती पनि गरेका छन् । केही जग्गा आफ्नै भएपनि केही बन्दकीमा लिएर खेती गरीदै आएको विकले बताउनुभयो ।  सिजन अनुसार तरकारी खेती गर्दै आएका विक दम्पतीले दुइटा भैसी, १३ वटा बाख्राहरु पनि पाल्दै आएका छन् । ६१ वर्षे विरबहादुरले वृद्ध भत्ता खादै आएको समेत बताउनुहुन्छ ।
दम्पतीको काममा बुहारी विबा विक, नातीहरु आशिक र साखिलले पनि सहयोग गर्दै आएका छन् । उनका छोरा बिरेन्द्र विकको भने २०६२ सालमा गाडी दुर्घटनामा परि २५ बर्षको उमेरका ज्यान गएका थिए । साउदीमा रहेका विरबहादुर आफ्नो छोराको खबर पाएपछि घर फर्केका थिए । घरमा कमाउने काही नभएपछि आँफु बुढाबुढीले तरकारी खेती लगाउने विचार बनाएको विक बताउनुहुन्छ । विकले आफ्नो दुई नातीको भविष्यको लागि, भरणपोषणका लागि दुख गर्दै आएको बताउँछन् । उनका नातीहरु आशिक १० कक्षामा र साखिल ६ कक्षामा बालकल्याण मावि भकुण्डेमा अध्ययन गर्दैआएका छन् ।  
शनिबार र अन्य बिदाका दिनमा नातीहरुले पनि आफ्नो काममा सहयोग गर्दै आएको हुजरआमा चिजा विकले बताइन् । उनले तरकारी बारीमा काम गर्दा तरकारी बोकेर बजार बिक्रीका लागि लैजादा आनन्द लाग्ने बताउनुभयो ।
विक दम्पतीले मासिक रुपमा  ८० हजार आम्दानी गर्छन भने आम्दानीको घरखर्च कटाएर ४० हजार रुपैया बचत गर्दै आएका छन् ।
समय समयमा खेताला लगाएर तरकारी खेती गर्दै आएका दम्पतीलाई जिल्ला कृषि विकास कार्यालयले पनि ४० हजार अनुदान उपलब्ध गराएको थियो । भने आरसिडिसीमार्फत वल्र्डभिजनले विभिन्न जातका तरकारीका विउ दिने गरेको छ ।
विक दम्पतीले विदेशमाभन्दा स्वदेशमै आफ्नै परिवारसँग बसेर काम गर्दाको फरक अनुभव हुने बताउँछन् । खेती गर्ने बारीमा रातो माटो भएका कारणले सिञ्चाइको भने असुविधा भएको विरबहादुर बताउँछन् ।
एक घण्टाको पैदल दुरीमा रहेको जङगलबाट सिञ्चाइका लागि पाइपमा पानी ल्याउन समस्या भएको विकको गुनासो छ । जे होस् दुख अनुसारको प्रतिफल पाएकोमा विक दम्पत्ती खुसी छन् ।  
साभार: लमजुङ डेलि डट कम  

Wednesday, January 04, 2017

चितवनलाई पर्यटन केन्द्रका रुपमा विकास गरौँ



चितवनलाई पर्यटन केन्द्रका रुपमा विकास गरौँ





— कृष्ण अनुरागी
प्रचुर पर्यटकीय सम्भावना बोकेको चितवनका रमणीय वनजंगल, खोलानाला, तालतलैया एवं मठमन्दिरहरुको जगेर्ना, प्रवद्र्धन र प्रचारप्रसार गर्न सक्ने हो भने हामीले समग्र चितवनलाई नै पर्यटन केन्द्रका रुपमा विकास गर्न सक्छौँ । लोपोन्मुख जंगली जनावर, विभिन्न प्रजातिका चराचुरूंगी र अन्य ससाना जीवजन्तुहरुको एउटै क्रीडास्थलका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्ज पर्यटकहरुको पहिलो रोजाइ बन्न सक्छ । प्राकृतिक सुन्दरताका अनुपम छटाहरुले सुसज्जित हाम्रो यो परिवेश संसारका कुनै पनि पर्यटकीयस्थलहरु भन्दा कम सुन्दर छैन, तर प्रचारप्रसार र पूर्वाधार विकासमा यथेष्ट ध्यान नदिँदा यो छायामा परिरहेको छ । पर्यटन आकर्षणको रुपमा विकास भैरहेको पूर्वी चितवनको सौराहदेखि गोही प्रजनन् केन्द्रका रुपमा रहेको पश्चिम चितवनको कसरासम्मको निकुञ्ज क्षेत्र र यसआसपासका सामुदायिक वनहरुलाई हामी पर्यटन क्षेत्रका रुपमा विकास गरी त्यस क्षेत्रका गाउँहरुलाई पर्यटन सिटीका रुपमा अघि बढाउन सक्छौँ, जसले समग्र चितवनको विकास र पर्यटन क्षेत्रमा उल्लेख्य योगदान पु¥याउन सक्छ । चितवन राष्ट्रिय निकुञ्जको काखमै पूर्वदेखि पश्चिमतर्फ कल्कलाउँदै बग्ने रापती नदी, नदीकिनारका फराकिला बगरहरु, हात्ती तथा गोही प्रजनन् केन्द्र, सुन्दर एवं रमणीय ताल, विविध धार्मिक स्थलसँगै सबै खाले जंगली जनावरहरुका बीच चराचुरूंगीहरुको संगीतमय वातावरणमा हुने डुंगा सयर, हात्ती सयर, फिसिङ, जंगल सफारी र भ्यूटावर पर्यटन आकर्षणका आधारहरु हुन् । यी सब कुराहरुलाई व्यवस्थित गर्दै यसलाई पर्यटन प्याकेजकै रुपमा अघि बढाउने हो र पर्यटन बसाइका हिसाबले सुविधासम्पन्न पूर्वाधार निर्माण गर्न सक्ने हो भने हामी लक्ष्यमा पुग्न सक्छौँ । त्यसका साथसाथै एउटा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सक्ने हो भने चितवनलाई देशकै पर्यटन केन्द्रको रुपमा विकास गर्न असम्भव देखिँदैन । खाँचो छ त केवल तपाईंको, मेरो अनि हामी सबैको एक दरिलो प्रयासको ।

सौराहादेखि पश्चिममा रहेका बिसहजारी तालको मौलिकता, दक्षिणकाली सामुदायिक वन क्षेत्रको रमणीयता, बाटुलीपोखरी सामुदायिक वनभित्र रहेको बाटुलीपोखरी तालको सुन्दरता, धार्मिक पर्यटकीयस्थल क्षीतामाई अनि विक्रम बाबाको ऐतिहासिकता, राप्तीको पश्चिम किनार घट्गाईको शालीनतासँगै मेघौलीस्थित राप्ति र नारायणीको मित्रता वास्तवमै चितवन पर्यटन विकासका आधार क्षेत्र हुन्, जसको संरक्षण र प्रवद्र्धनबिना हामी चितवनको वास्तविक सौन्दर्यता आँकलन गर्न सक्दैनौँ । त्यसो त, पूर्वमा रहेको सौराहा, उत्तरमा रहेको ऐतिहासिक क्षेत्र उपरदाङगढी, सूर्योदय पहाड भनेर चिनिने सिराइचुली, चेपाङ बस्तीहरु रहेको सिद्धि, कोराक, काउलेजस्ता ट्रेकिङको सम्भावना बोकेका पहाडहरु पर्यटकीय हिसाबले उत्ति नै मह¤वपूर्ण छन् । यता, राप्ती र नारायणीको संगमस्थल मेघौलीको गोलाघाट, गोही प्रजनन् केन्द्रको रुपमा रहेको कसरा र यहाँका ठूलाठूला जंगल, रिसोर्टहरु पहिलेदेखि नै पर्यटकका रोजाइ नबनेका हैनन् । धार्मिक तीर्थस्थल देवघाटधाम र नारायणी नदीको विशालतालाई पनि नजरअन्दाज गर्न सक्दैनौँ हामी, चितवन पर्यटन विकासका दृष्टिकोणले । फेरि पनि हामीले भन्नैपर्छभौगोलिक सुगमता, पूर्वाधार सम्भाव्यता र प्राकृतिक सुन्दरताका हिसाबले पनि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, बरन्डाभारअन्तर्गतका सामुदायिक वनहरु र यहाँका गाउँबस्तीहरु नै पर्यटन विकासका प्रमुख आधारहरु हुन् । त्यसका लागि मेघौलीमा रहेको क्षेत्रीय विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल, जिल्लाभित्र रहेका विविध संस्कृति र रहनसहन भएका जनजाति समुदायका बस्तीहरुलाई सुविधासम्पन्न होमस्टेका रुपमा विकास गर्न सक्छौँ । त्यसैगरी, अन्तर्राष्ट्रियस्तरका ठूलाठूला होटल, रिसोर्ट र क्लबहरुको अवधारणालाई अघि बढाउने हो भने विकसित देशहरुका पर्यटकहरु भित्र्याउन पनि सक्षम हुन्छौँ हामी ।
पूर्वको सौराहादेखि पश्चिम घट्गाई जोड्ने रापती नदीको किनारलाई हामी पर्यटक हाइवेका रुपमा विकास गर्न सक्छौँ र ठाउँठाउँमा विश्रामस्थलसहितको भ्यूटावर बनाउन सक्छौँ । पर्यटक बोक्ने प्रदूषणमुक्त साना सवारीसाधनलाई सिसी क्यामेराको प्रत्क्षय निगरानीमा सञ्चालन गर्न दिँदा त्यसले राष्ट्रिय निकुञ्जभित्रको पर्यावरणमा पनि खासै असर गर्दैन । बरू, यसले चितवनका पूर्वदेखी पश्चिमसम्मका सबै पर्यटकीयस्थलहरुलाई जोड्ने पुलको काम गर्दछ । यसो हुँदा सबै पर्यटकीयस्थलका विशेषतालाई समेटेर हामी आकर्षक प्याकेजसहित पर्यटकहरुलाई आकर्षित गर्न सक्छौँ । हामी यो प्याकेजलाई सौराहाबाट सुरू गरी घट्गाईमा लगी टुंग्याउन पनि सक्छौँ भने घट्गाईबाट सुरू गरी सौराहामा लगेर टुंग्याउन पनि सक्छौँ । घट्गाईबाट सुरू गर्दा पश्चिमका अरु क्षेत्रहरुलाई समेट्न सकिन्छ भने सौराहाबाट सुरू गर्दा पूर्वका अन्य क्षेत्रलाई पनि जोड्न सकिन्छ ा जताबाट सुरू गरे पनि केन्द्र भागमा रहेको बेल सहरको फराकिलो भूभागमा भ्यूटावरमार्फत दृश्यावलोकन गराउँदै नजिकै रहेको बाटुलीपोखरी तालको रमणीयतामा समाहित गराउन सकिन्छ पर्यटकहरुलाई । पर्यटक हाइवेको लगभग केन्द्र भागमा रहेको यो शान्त अनि मनोरम बाटुलीपोखरी तालमा डुंगा सयर र जंगली जनावरहरुको मनोहरतासँगै चराचुरूंगीहरुको संगीतमय वातावरणमा रम्नेछन् पर्यटकहरु । साँझबिहानमा देखिने दुर्लभ वन्यजन्तुहरुको सामूहिकता, उनीहरुले गर्ने जलक्रीडा एवं यौनक्रीडा र मयूर, डाँफेको नाच बाटुलीपोखरीका विशेषता हुन् । यस अर्थमा पनि बाटुलीपोखरीको मह¤व विशेष रहन्छ, यो प्याकेजको सान्दर्भिकताका लागि । बाटुलीपोखरीलाई थोरै भौतिक पूर्वाधारहरुले श्रृंगार्ने हो भने अज उसको सुन्दरतामा निखार ल्याउन सकिन्छ, जसले देशविदेशका पर्यटकहरुलाई सजिलै लोभ्याउने छ । बाटुलीपोखरीभन्दा माथिपट्टि रहेको बिसहजारी ताल र यहीबीचमा रहेका अन्य ससाना किङफिसर ताल, निउरे ताल, रातमाटे ताल, वेदघारी ताल, मयूर ताल र दक्षिणकाली तालहरुको पनि उचित संरक्षण र संवद्र्धन गर्ने हो भने यो प्याकेजको दायरा अझ फराकिलो हुन सक्छ । यस क्षेत्रभित्र गर्न सकिने हात्ती सफारी, डुंगा सयरसँगसँगै बस्तीकिनारमा हुन सक्ने क्याम्प फायर पर्यटकका लागि अर्को आकर्षण हुन सक्छ । त्यसैगरी, दक्षिणकाली सामुदायिक वन क्षेत्रमा रहेको परम्परागत धान पूजाका लागि प्रसिद्ध देवालय पर्यटकहरुको चासोको विषय बन्न सक्छ, जसले हाम्रो मौलिकता र संस्कृतिलाई विश्वमाझ चिनाउन मद्दत पु¥याउँछ । यिनै सामुदायिक वनसँगै रहेका विभिन्न थारु, दराई, गुरूङ र मगर बस्तीहरुलाई हामी होमस्टेका रुपमा विकास गरी उनीहरुको आर्थिक विकाससँगै कला र संस्कृतिको जगेर्ना गर्न सक्छौँ । बाटुलीपोखरीभन्दा तलपट्टि रहेको क्षीतामाई मन्दिर क्षेत्र र कसरामा रहेको विक्रम बाबा क्षेत्रलाई धार्मिक पर्यटक स्थलका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको छ । यी सबै क्षेत्रहरु राष्ट्रिय निकुञ्जको नजिक र बरन्डाभार जंगलको छेउछाउमै रहेका छन् । दिनभरि काम गरेर बिहानबेलुकाको छाक टार्नुपर्ने बाध्यतामा रहेका विपन्न वर्ग या समुदाय नै जंगलआसपासमा बस्ने गर्दछन् । त्यस क्षेत्रमा हुने पर्यटन विकासले तिनै मानिसहरुको सामाजिक चेतना र आर्थिक समृद्धिको स्तर वृद्धि गर्दछ, जसले गर्दा राष्ट्रिय निकुञ्जभित्र हुने चोरीसिकारी र अतिक्रमणलाई धेरै हदसम्म कम गराउँछ । त्यहाँको पर्यटकीय विकासको प्रत्यक्ष लाभ लिने वर्ग पनि तिनै हुन् । नेपालको अहिलेको राजनीतिक परिवर्तनको उद्देश्य पनि तिनै वर्ग अनि समुदायलाई राज्यको मूलधारमा ल्याउनु हो । यस अर्थमा पनि त्यस क्षेत्रको पर्यटन विकासका लागि हामी सबैले हातेमालो गर्न जरूरी छ ।
तर अब प्रश्न उठ्छ, यति धेरै पर्यटकीय सम्भावना बोकेका चितवनका यी पर्यटनस्थलहरुको पूर्वाधार विकास र प्रचारप्रसारमा किन कसैले चासो र पहल गरेनन् होला त ? विगतमा हाबी रहेको सहरकेन्द्रित राजनीति, बन्दहड्ताल र हिंसात्मक आन्दोलनले थलिएको गाउँसमाज, पलायनवादी संस्कृति, स्थानीयस्तरमा सचेतनामूलक कार्यक्रमको कमी, लामो समयदेखि रिक्त स्थानीय निकाय आदि यसका प्रमुख कारण थिए । यसबीचमा नारायणी र रापती नदीमा धेरै पानी बगिसक्यो । हामीले ठूलाठूला राजनीतिक एवं सामाजिक परिवर्तन गरिसक्यौँ, भलै त्यसको संस्थागत विकास अहिले प्रक्रियामा छ । अब हामी आर्थिक एवं सांस्कृतिक परिवर्तनको सँघारमा छौँ । आर्थिक परिवर्तनको हाम्रो प्रमुख आधारमध्ये पर्यटन विकास पनि एक हो । यस अर्थमा पनि हामी चितवनवासीका लागि यो उपयुक्त समय हो, यहाँको पर्यटन विकास गर्न ।
संघीय संरचनाअन्तर्गत हाम्रो चितवन अहिले तीन नम्बर प्रदेशमा पर्छ, जुन समग्र नेपालको केन्द्र भागमा रहेको छ । स्रोत र साधनका हिसाबले पनि हाम्रो चितवन पर्यटन, कृषि र जडीबुटीका लागि धनी छ । समग्र तीन नम्बर प्रदेशकै विकासका दृष्टिकोणले पनि यहाँको पर्यटन विकास अबको आवश्यकता हो । यहाँ रहेका हामी सबै धर्म, जातजाति, वर्ग, समुदायहरुबीचको सामूहिकता नै हाम्रो समृद्धिको आधार हो र हामी चितवनवासीको पहिचान हो । अहिले संघीयताका नाउँमा मच्चिरहेको जातीय कलहका लागि पनि हामी चितवनवासी उदाहरण बन्न सक्छौँ । त्यसैले, अब फेरि एकपटक हाम्रो चितवनको समृद्धिका लागि पर्यटकीय सम्भावना बोकेका यी ठाउँहरुको संरक्षण र प्रवद्र्धनमा हातेमालो गरौँ । चितवनलाई पर्यटन केन्द्रका रुपमा विकास गर्न तपाईं हाम्रो प्रयास नै पर्याप्त छ । त्यसैले, अब ढिला नगरी आआफ्नो ठाउँबाट सहयोग गरौँ ।

साभार:- चितवन पाेष्ट