लमजुङ र कास्कीको सिमानामा बग्ने रुदी खोलामा बस खस्यो
श्रावण १२, २०७४- लमजुङ र कास्की जोड्ने रुदी दोभानको अस्थायी पुलबाट बस खस्दा दुई जनाको चेपिएर मृत्यु भएको छ । दुई महिलालाई खोलाले बगाएको स्थानीयले बताएका छन् ।
बाढीले पुलको जग कमजोर बनाएपछि जग हल्लिएको र पूल समेत भाँचिन जाँदा बस खसेको यात्रुहरुले बताएका छन् । चेपिएर मृत्यु भएका दुई जना पुरुष रहेको उनीहरुले बताएका छन् । उनीहरुको उद्धार हुन सकेको छैन । पानीभित्रै रहेकाले बस उद्धारका लागि क्रेन चाहिने र भोर्लेटारबाट क्रेन ल्याउने तयारी भइरहेको घटनास्थल पुगेका भोर्लेटारका प्रवेश घिमिरेले बताए ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय भोर्लेटारबाट गएका प्रहरी पुगेका छन् । गम्भीर घाइते १४ जनालाई उपचारका लागि पोखरा र लमजुङको रामबजारतर्फ पठाइएको छ । रामबजारतर्फ पठाएका घाइतेको प्राथामिक उपचारपछि पोखरा लगिएको प्रहरीले जनाएको छ ।
बसमा सवार लमजुङको भोर्लेटारका अपिलराज पौडेलका अनुसार पोखराबाट लमजुङको रामबजार हुँदै कास्कीको मुंग्रेबेंसी भएर लमजुङको पसगाउँफेदी बगैंचा जाँदै गरेको यात्रुबहाक बस बिहीबार दिउँसो १ बजेतिर दुर्घटना भएको हो । उनका अनुसार रुदी र मादी दोभानको रुदीखोला माथिको पुलको जग हल्लिनुका साथै ट्रस भाँचिएर ना५ख ६३९५ नं. को यात्रुबहावक बस खोलामा खसेको हो ।
डीएसपी समीरचन्द्र खरेलले २ जना बसभित्र चेपिएको र १ जनालाई बगाएको खबर आएको बताए । इलाका प्रहरी कार्यालय भोर्लेटारका इन्सपेक्टर राधेश्यामसिंह सैथवारसहितको टोली घटनास्थलतर्फ खटाएको उनले बताए । उनका अनुसार बसमा करिव ३५ यात्रु थिए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
साभार: Kantipur News
No comments:
Post a Comment