लमजुङ जिल्लाको परिचय
लमजुङ जिल्ला भौगोलिक रूपमा मध्य पहाडी क्षेत्र देखि उत्तरी हिमाली क्षेत्र सम्म फैलिएर रहेको छ । नेपालकै झण्डै बीच भागमा पर्ने जैविक विविधताको धनी र पर्यटकीय दृष्टीले महत्वपूर्णा यो जिल्लाले १,६९२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । गुरुङ जातिको बाहुल्यता रहेको यस जिल्ला ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वको हिसावले प्रमुख स्थानमा रहन्छ । नेपाललाई चिनाउने संस्कृति माध्यम लोक दोहोरी गीतको उदगम स्थल यस जिल्लालाई मानिन्छ । समुद्र सतहबाट ८०० मिटर उचाईमा पर्ने यस जिल्लाको सदरमुकाम बेसीसहर पृथ्वी राजमार्गमा पर्ने तनहुँ जिल्लाको डुम्रे बजारदेखि ४२ किलोमिटर उत्तरमा पर्दछ । राजनैतिक एवं प्रशासनिक दृष्टिकोणले यस जिल्लालाई ५२ गाउँ विकास समिति, ११ इलाका र २ निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ ।
नामाकरण
"लमजुङ" शब्द मगर भाषाबाट आएको मानिन्छ । यसको अर्थ अग्ला, लामा तथा ठूला पहाड तथा पर्वतहरूले बनेको भूमि भन्ने बुझिन्छ ।
जनसंख्या
राष्ट्रिय जनगणना २०६८ अनुसार लमजुङ जिल्लाको कूल जनसंख्या १,६७,७२४ जना मध्ये पुरुष ७५,९१३ जना र महिला ९१,८११ रहेका छन ।
ऐतिहासिक पृष्ठभुमि
यस जिल्लाको उत्तर तथा उत्तर-पश्चिमी अग्ला लेकाली प्रदेशमा पशुपालन व्यवसायको विकास गरी प्राचीन कालदेखि बसोवास गर्दै आएका गुरुङ तथा घले जातिहरूले आफ्नो भाषा, संस्कृति, रहनसहन तथा सामाजिक, आर्थिक तथा राजनैतिक संरचनाको स्थापना गर्दै आएको पाइन्छ । सामान्य खोज तथा अनुसन्धानले समग्र जिल्लाको उत्तरी भेग गुरुङ तथा घले जातिको सामाजिक तथा राजनैतिक प्रभाव क्षेत्र भित्र रहेको थियो भन्ने जानकारी प्रदान गरेका छन । जिल्लाको दक्षिणी भेकका टार तथा बेसीहरूमा क्षेत्री, ब्राह्मण, दमाई,कामी, सार्की आदि जातिका मानिसहरू बसोवास गर्दै आएको पाइन्छ ।
सोर्हौं सताब्दीमा शाह वंशीय राजाका पूर्वजयशोब्रम्ह शाहले लमजुङ जिल्लामा शासन गरेका थिए । यसैलाई शाहवंशको उद्गम विन्दु मानिन्छ । त्यति बेला भद्र, शान्त तथा इमान्दार जातिको रूपमा चिनिने मगर जातिलाई राजदरवारको सेवामा राखिएको र त्यसैले गर्दामगर भाषा एवं भेषभुषा र संस्कृतिको सामान्य प्रभाव राजदरवार एवं राज्य शासन सञ्चालनमा रहेको कुरालाई कतिपय सामाजिक तथा सांस्कृतिक संस्कार र परम्पराले पुष्टि पनि गरेको पाइन्छ ।
No comments:
Post a Comment