पृथ्वीमा भएका ५ महाविनाश घटना
पृथ्वीमा
पुराना जीवजन्तु तथा वनस्पति लोप हुनु र नयाँ अस्तित्वमा आउनुलाई जीव
विकासको सामान्य प्रक्रिया मानिन्छ। त्यस्तो प्रक्रिया अत्यन्त सुस्त हुने
गर्छ। तर, जीव विकास प्रक्रियामा कयौंपटक अत्यन्त ठूलो संख्यामा एकैपटक
प्राणीहरु लोप भएका छन्, जसलाई ‘मास एकस्टिङसन’ (महाविनाज्ञ) भनिन्छ।
झन्डै ६ करोड ६० लाख वर्षअघि एउटा उल्कापिण्ड पृथ्वीमा ठोक्किएपछि भएको
‘मास एकस्टिङसन’ ले त्यतिबेलासम्म अस्तितवमा रहेको भीमकाय जीव डायनोसर लोप
भयो। अहिले यो जनावर पुस्तकका पन्ना र फिल्ममा सीमित भएका छ।वैज्ञानिकले पत्ता लगाएको सबैभन्दा ठूलो ‘मास एकस्टिङसन’ २५ करोड वर्ष पहिले ‘परमीयन’ युगमा भएको थियो। उक्त घटनामा ९६ प्रतिशत प्राणीको विनाश भएको मानिन्छ।
वैज्ञानिकले अहिलेसम्म त्यस्ता ५ महाविनाशबारे जानकारी बटुलेका छन्। कुन-कुन हुन् ती महाविनाश?
ओर्डोभिसियन-सिलुरियन मास एकस्टिङसन
यस अवधिमा जैविक इतिहासकै तेश्रो सबैभन्दा ठूलो मास एकस्टिङसन भएको थियो। त्यस समयमा मास एकस्टिङसनको घटना दुईपटक भएको मानिन्छ। ‘ओर्ड़ोभिसियन’ अवधिमा मुख्यत: समुद्रमा मात्र जीवन थियो। झन्डै ४४ करोड ४० लाख वर्ष पहिले भएको उक्त घटनामा ‘ट्रिलोबाइट्स’, ‘ब्राचीओपोड्स’ र ‘ग्रापटोलाइट्स’ जस्ता समुद्री जन्तुको विनाश भएको थियो।
उक्त महाविनाशका कारण पृथ्वीमा व्यापक रुपले बरफ जम्नु र समुद्रको सतह घट्नुलाई मानिएको छ। के कारणले बरफ त्यति धेरै जम्यो भन्ने अझै रहस्यकै विषय हो। जमिनमा फैलिएका वनस्पति त्यसका निम्ति जिम्मेवार रहेको पनि अनुमान छ। उक्त अनुमानअनुसार वनस्पतिले व्यापक रुपमा वायुमण्डलबाट कार्बनडाईअक्साइड सोसेपछि पृथ्वी चिसियो र बरफ जम्न सुरु भयो।
डेभोनियन युग अन्त्यतिरको मास एकस्टिङसन
डेभोनियन युगको अन्त्यतिर भएको मास एकस्टिङसनमा लगभग ७५ प्रतिशत वनस्पति तथा जीवजन्तुको मृत्यु भएको थियो। त्यस अवधिमा ‘मास एकस्टिङसन’ एकैपटक नभई एकदेखि तीन लाख वर्ष अन्तरालमा दुईपटक भएको थियो।
रित्तिएका समुद्री चट्टानहरु पहिलेकै अवस्थामा पुग्न १० करोड वर्ष लागेको थियो। समुद्री सतहको तापक्रम ३४ डिग्री सेल्सियसबाट झरेर २६ डिग्री सेल्सियसमा पुग्यो। सुमुद्रको सतहमा बाँच्ने प्राणी उक्त विनाशको सबैभन्दा धेरै शिकार भए।
३६ करोड वर्षपहिले उक्त अवधिमा दुईपटक ‘मास एकस्टिङसन’ हुनुको कारण जलवायु परिवर्तनलाई मानिन्छ। तर जलवायु के कारणले परिवर्तन भयो भन्ने अझै रहस्यकै विषय छ। धेरैले त्यसको कारण ज्वालामुखी विस्फोट वा उल्कापिण्ड पृथ्वीमा ठोक्किनुलाई मानेका छन्।
जमिनमा वनस्पति र माकुरो तथा बिच्छीजस्ता देखिने जन्तु संसारमा भर्खरै फैलन सुरु गरेका थिए। जमिन र पानी दुवै स्थानमा बाँच्न सक्ने जीव पनि विकास हुने प्रक्रियामा थियो। तर उक्त घटनामा त्यस्ता सबै जन्तु सखाप भए। ‘त्यसपछि जमिनमा घस्रने जन्तुको पदचिन्ह पृथ्वीमा देख्न अर्को एक करोड वर्ष पर्खनुपर्यो,’ रुटजर्स विश्वविद्यालायका अनुसन्धानकर्ता जर्ज म्याकघि भन्छन्, ‘हुनसक्छ, उक्त मास एकस्टिङ्सङन’ नभएको भए संसारको रुप अहिलेको भन्दा फरक हुने थियो।’
परमियन मास एकस्टिङसन
परमियन मास एकस्टिङसनलाई ‘महामृत्य’ पनि भनिन्छ जसको चपेटामा ९६ प्रतिशत जीवजन्तु तथा बनस्पति सखाप भए। आज संसारमा जति पनि जीवजन्तु तथा वनस्पति छन् ती सबै उक्त समयमा बाँचेका ४ प्रतिशत जीवजन्तु तथा वनस्पतिबाट विकसित भएका मानिन्छन्।
२५ करोड वर्ष पहिले उक्त घटना हुनुअघि संसारमा ‘क्रिनोइड’, ‘सी लिली’ जस्ता समुद्रको एकै स्थानमा बस्ने र मुखमा जुन कुरा आउँछ त्यसलाई निलेर बाँच्ने प्राणी (फिल्टर फिडर) अस्तित्वमा थिए। उक्त घटनापछि समुद्रमा जटिल र घुम्न सक्ने गंगटा, शंखेकीराजस्ता जन्तु विकसित भएका थिए। उक्त घटनाको कारण ज्वालामुखी विस्फोटलाई मानिन्छ िज्वालामुखीबाट ७० लाख वर्गकिलोमिटरसम्म लाभा निस्किएको अनुमान गरिएको छ। उक्त क्षेत्र झन्डै अस्ट्रेलियाको भू-भाग जाति हो।
ट्रियासिक-जुरासिक मास एकस्टिङसन
करिब २० करोड वर्षपहिले भएको उक्त ‘मास एकस्टिङसन’ दुई-तीन चरणमा भएको थियो। उक्त घटना हुनुअघि पृथ्वीमा स्तनधारी जस्ता लाग्ने ‘थेरापसिड्स’ नाम गरेको जन्तु संसारमा छरिएका थिए। डायनोसरको पुर्खा मानिएको ‘आर्कोसाउरस’ भन्दा ‘थेरापसिड्स’को उपस्थिति बाक्लो रहेको वैज्ञानिकहरुले बताएका छन्।
‘मास एकस्टिङसन’ पछिको वातावरण डायनोसरमैत्री भयो। ‘थेरापसिड्स भन्दा डायनोसर संसारमा राम्ररी बाँचे,’ म्याकघि भन्छन, ‘मास एकस्टिङसनले पृथ्वीको वातावरण पनि डायनोसर मैत्री बनायो।’
उक्त घटना के कारणले भएको हो भन्नेमा निकै विवाद छ। सबैभन्दा बलियोसँग प्रतुस्त गरिएका दुई तर्कमध्ये एक हो- मध्य-प्रशान्त क्षेत्रको म्यागमाटिक क्षेत्रमा ज्वालामुखी विष्फोटन हुनु। उक्त क्षेत्र एक करोड १० लाख वर्ग किलोमिटरमा फैलिएको छ, जुन क्यानडा देश जत्रै छ िदोश्रो तर्कअनुसार बाह्य पिण्डले पृथ्वीलाई ठक्कर दिएर जलवायु परिवर्तन भएको हो।
क्रेटासियास-टेरिटरी मास एकस्टिङसन
यो घटनामा पृथ्वीबाट डायनोसर लोपै भए। झन्डै ६ करोड ६० लाख वर्षअघि आकाशबाट झरेको एउटा उल्कापिण्ड पृथ्वीमा ठोक्किएपछि यहाँको जलवायु परिवर्तन भई डायनोसर सहित पृथ्वीका ७५ प्रतिशत जन्तु तथा बनस्पति लोप भएको वैज्ञानिकले बताएका छन्।
उक्त ‘मास एकस्टिङसन’ के कारणले भयो भन्नेमा लामो समय विवाद भएको थियो। अन्तत: उल्कापिण्ड पृथ्वीमा ठोक्किएर उक्त घटना भएको भन्नेमा वैज्ञानिकहरू लगभग सहमत भएका छन्।
उल्कापिण्ड आएर पृथ्वीमा ठोक्किँदा आगोको लप्का उठेको थियो। यसले वायुमण्डलभरि धुवाँ र धुलोको मुस्लो छायो। त्यो बाक्लो मुस्लोले सूर्यको किरण पृथ्वीसम्म आइपुग्ने बाटोधरि छेक्यो। त्यो समय सूर्यको किरण ८५ प्रतिशत छेकिएको वैज्ञानिकहरूको आँकलन छ।
यसले पृथ्वीको तापक्रम पहिलेको भन्दा १६ डिग्री सेल्सियस कम भयो। करोडौं वर्षदेखि यहाँ राज गर्दै आएका डायनोसरजस्ता भीमकाय जनावर यो जलवायु परिवर्तनको चपेटामा परे। चिस्सिएको पृथ्वीसँग उनीहरूको शरीर अभ्यस्त हुन सकेन भने आमविनाशका करण उनीहरुलाई खानेकुरा उपलब्ध हुन सकेन
स्राेत- अनलाइन पत्रिका सेताेपाटी
No comments:
Post a Comment