बोटमै बिक्छ सुन्तला, बजारको चिन्ता छैन तर उत्पादन घट्यो
लमजुङ, मंसिर १५ – लमजुङको चिति–२ स्याउतकी मैयाँ भण्डारीलाई अहिले सुन्तला बेच्न भ्याईनभ्याई छ । सुन्तला किन्न बगैँचामै व्यापारी आउँदा उहाँ दंग हुनुहुन्छ । बोटमै सुन्तला बिक्री हुँदा उहाँको खुसी हुनुहुन्छ । उहाँले घर नजिकै डेढ रोपनी जग्गामा सुन्तला खेती गर्नुभएको छ ।बजारकोसमस्या छैन, बजार भाउ पनि गतिलै छ’, मैयाँले भन्नुभयो । सुन्तला उत्पादनका दृष्टिले चिति जिल्लाकै पकेट क्षेत्र मानिन्छ । अहिले सुन्तला व्यापारीहरु सुन्तला खरिदका लागि चिति पुगिसकेका छन् ।
उत्पादन घट्दै
लमजुङका सुन्तला उत्पादक किसानलाई बजारको समस्या नभए पनि वर्षेनी उत्पादन घट्दा भने चिन्ताले सताउन थालेको छ । सुन्तला बिक्रीबाटै अघिल्ला वर्षमा घरव्यवहार चलाउन सहज हुने गरेकोमा अहिले त्यस्तो परिस्थिति छैन ।‘पहिले यही बारीमा लगाएको सुन्तला बिक्रीबाटै घरव्यवहार चलाउन सजिलो भएको थियो, पुगेकै थियो, तर अहिले बगैँचामै सुन्तलाको राम्रो मूल्य पाइएको छ तर उत्पादन भने घट्दो छ’, मैयाँले भन्नुभयो । गएको वर्ष उहाँले सुन्तला बिक्रीबाट १३ हजार रुपैयाँ हात पार्नुभएको थियो । उहाँका अनुसार यो वर्ष सुन्तला बिक्रीबाट २० हजार रुपैयाँ आम्दानी भएको छ । पहिले एउटै रुखमा दुई हजार दानासम्म सुन्तला फल्ने गरेको बताउँदै उहाँले भन्नुभयो ‘त्यो समयमा उत्पादन राम्रो थियो, अहिले त उत्पादन घट्दै छ, यस्तो पाराले जीन्दगी चलाउनै मुस्किल छ ।’ सुन्तला बिक्रीबाट राम्रै आम्दानी भएकाले आफ्नो श्रीमान कृष्णबहादुर भण्डारी परदेश नगई स्वदेशमै बसेर कृषि कर्म गरेको उहाँले बताउनुभयो । ‘सुन्तलाबाटै पहिले राम्रै आम्दानी भएको थियो, घरखर्च चलाउन सजिलै थियो, त्यसैले सुन्तला खेतीबाहेक अरु केही सोचिएन’, ४२ वर्षकी उहाँले भन्नुभयो, ‘उमेर पनि ढल्कँदो छ, जीवन चलाउन अब के गर्ने ?’ सुन्तलामा जरा तथा हाँगा सुक्ने, दाना सानो लाग्ने जस्ता समस्या देखा परेको उहाँले बताउनुभयो ।
‘सुन्तलाका बोट धमाधम मर्न थालेका छन्’,
सुकेको सुन्तलाको बोट देखाउँदै उहाँले भन्नुभयो ‘दाउरा खोज्नलाई सुन्तला
बगैँचा आए पुग्छ, वनमा जानु पर्दैन ।’
उत्पादन घटेसँगै विदेश जानेको संख्या बढ्यो
पाँच वर्ष पहिले सुन्तला बेचेरै डेढ लाख
कमाएको स्मरण गर्नुहुन्छ, चिति–२ स्याउतकै अर्का व्यावसायिक सुन्तला किसान
रामबहादुर भण्डारी । उहाँले अहिले सात रोपनी जग्गामा सुन्तला खेती
गर्नुभएको छ ।
गएको वर्ष ४० हजारकोसुन्तला बेचेका भण्डारीले यसवर्ष सुन्तला
बिक्रीबाट ४७ हजार आम्दानी हुने आशा गर्नुभएको छ । खेतीका लागि गाउँमा सिञ्चाईको व्यवस्था
नरहेको उहाँको भनाई छ । दुई दशकभन्दा बढी समय सुन्तला खेतीमा अडिएका
भण्डारीले गाउँमा सुन्तला उत्पादन घटेसंगै विदेश जाने र अन्य पेसा रोज्नेको
संख्या बढेको बताउनुभयो । ‘पहिले यहाँ सुन्तला खेती गर्ने धेरै नै थिए,
राम्रो आम्दानी गरेका थिए तर उत्पादन घटेसँगै सुन्तला खेती छाडेर विदेश
जाने र अरु पेसा रोज्नेको संख्या बढेको छ’, उहाँले सुनाउनुभयो ।
जागिर छोडी सुन्तला खेती
चिति–१ कोलडाँडाका योगेन्द्र भण्डारीले
लामो समयसम्म पढाउनुभयो । तर उहाँले शिक्षण पेसा छोडेर धान फल्ने सात रोपनी
खेतमा सुन्तला लगाउनुभयो । अहिले उहाँको सुन्तला खेती विस्तार भएको छ ।
उहाँको सुन्तला बगैँचा १८ रोपनी जग्गामा फैलिएको छ । उहाँले सुन्तला
बिक्रीबाटै दुई छोरा र एक छोरी पढाउनुभयो, हुर्काउनुभयो ।
योगेन्द्र अहिले उमेरले ७३ वर्ष लाग्नुभयो
। हिँड्डुलमा उहाँलाई समस्या छ । उहाँको व्यवसाय अहिले श्रीमती टुकुमाया
भण्डारीले सम्हाल्नुभएको छ । उहाँले सुन्तलाका साथमा अदुवा, अलैँची
लगाउनुभएको छ । साथमा बाख्रा, भैँसी पनि पाल्नुभएको छ । ‘यो उमेरमा पनि काम
गरिरहेको छु, सुन्तलाको हेरचाह, गाईभैँसीको स्याहारसुसारमा जुटिरहेको छु’,
७० वर्षकी टुकुमायाले भन्नुभयो ।
गएको वर्ष भण्डारी दम्पत्तीले ३ लाखको
सुन्तला बेचेका थिए । ‘यसवर्ष दुई लाख आम्दानी होला कि भन्ने अनुमान छ,’
टुकुमायाले भन्नुभयो । लमजुङका सुन्तला रसिला/स्वादिला
लमजुङमा उत्पादित सुन्तलालाई उपभोक्ताले निकै रुचाउने र मूल्य पनि राम्रो पाइने सुन्तला व्यापारी बताउँछन् । ‘लमजुङका सुन्तला रसिला/स्वादिला छन्, दाना पनि ठूला, राजधानीमा पनि यहाँको सुन्तलाको माग उच्च छ, मूल्य पनि राम्रो पाइन्छ’, सुन्तला खरिदका लागि भारत बिहारको बेतियाबाट लमजुङ चिति पुगेका सुन्तला व्यापारी प्रभु साहले भन्नुभयो, ‘त्यसैले सुन्तलाको सिजनमा सुन्तला खरिदका लागि १५ वर्षदेखि लमजुङ धाइरहेको छु ।’
अाजकाे उज्यालो अनलाइनले समाचार प्रकाशित गरेको छ ।
No comments:
Post a Comment